काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि शिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुने भएका छन् । आवेदक २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको छ ।
महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने विद्यालयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
छात्रवृत्ति छनोट परीक्षा भोलि जेठ १७ गते सञ्चालन हुनेछ ।
परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपी मा लग इन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसईईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ ।
प्रवेशपत्र अनिवार्य रूपमा रङ्गिन प्रिन्ट गर्नुपर्नेछ । परीक्षा सम्वन्धी नियम तथा आचारसंहिताहरू परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।