वर्तमान स्वास्थ्य संकट टार्न सेना परिचालन ?

वर्तमान स्वास्थ्य संकट टार्न सेना परिचालन ?

२०७८, बैशाख २९ बुधवार

  • 3.0K
    SHARES

  • वर्तमान स्वास्थ्य संकट टार्न सेना परिचालन ?

    काठमाडौं । विश्व व्यापी फैलिएको कोभिड कोरोना १९ को पछिल्लो संस्करण नयाँ भेरियन्ट नेपाल र भारतमा तीब्र गतिमा संक्रमण फैलिएको छ । भारतमा दिनहुँ ४ लाख भन्दा बढी संक्रमण हुनुका साथै ४ हजार भन्दा बढीले मृत्युवरण गरिरहेका छन् । त्यस्तै नेपालमा पनि दिनहुँ १० हजारको हाराहारीमा संक्रमित हुनु र हिजो मात्र २२५ जना भन्दा बढीको मृत्युले अवस्था भयावह भैसक्यो भन्ने ग्राफले देखाउँछ ।

    अस्पतालमा बेड आईसियु भेन्टिलेटर र अक्सिजनको हाहाकार छ । सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका मानिसहरु डरले घर घरमा विरामी भएर बसेका छन् । उपत्यका लगायत ठुला  ठुला शहरहरुमा दिनदिनै संक्रमितको संख्या बढ्दैछ । औषधि अक्सिजन र सिलिण्डरको अभावले समस्या जटिल बन्दैछ, मर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ । 

    यसरी भारतमा बढ्दो मृत्यु दर र संक्रमणका कारण भारतमा कामकाज गर्ने थुप्रै नेपाली दाजुभाईहरु डरले खुल्ला सिमाना हुदै नेपाल भित्रिएका छन् । विना चेक जाँच सहजै भित्रिएका छन् । कति संक्रमित थिए, तिनीहरुबाटै नयाँ भेरियन्ट तीब्र गतिमा फैलियो भन्ने कुरा स्वास्थ्य विज्ञहरुले बताइरहेका छन् । यसरी दिनहुँ हजारौको संख्यामा निर्वाध रुपमा नेपाल प्रवेशले कोरोना संक्रमण झन झन तीब्र रुपले फैलिएको हो ।

    सीमामा नियन्त्रण र निगरानी फितलो छ । चेकजाँच र होल्डिंग सेन्टर कतै छैन । यसले गर्दा दिनहुँ प्रवेशले सीमा क्षेत्र हुँदै गाऊँ गाऊँमा संक्रमण तीब्र गतिमा फैलिएको छ । अझ भनौ कतिपय रोगको पहिचान र उपचार विना मानिसहरुको मर्ने क्रम रोकिएको छैन । मुलुकभर नै कोरोना संक्रमणले भयावहको अवस्था छ । अस्पतालले भर्ना लिन छाडिसकेको छ ।

    स्वास्थ्य मन्त्रालयले घुमाउरो भाषामा हात उठाई सकेको छ । जनताको अभिभावक सरकार आफै सत्ताको जोडघटाऊ मै रुमलिएको छ । मुलुकमा सरकारको अनुभूति भएको आभाष पटक्कै देखिदैन । त्यसैले वर्तमान संकटको निकाश भनेको स्वास्थ्य संकटकाल घोषणा गरी सेना परिचालन गर्नु नै हो । 

    नेपालमा दिनहुँ कोरोना संक्रमितको संख्या दिनानुदिन तीब्र रफ्तारमा फैलिदैछ । हाल सम्म नेपालमा संक्रमितको संख्या ४१३१११, आईसोलेसनमा बसेको संख्या ९७००७, मृत्यु संख्या ४०८४ भैसकेको छ । अक्सिजन र सिलिण्डरको हाहाकारले संक्रमितले दिनहुँ मृत्युवरण गरिरहेका छन् ।

    अस्पतालहरुमा विरामी राख्ने बेड छैन । बाटो बाटोमा एम्बुलेन्समा मृत्युवरण गरिरहेका छन् । दिनानुदिन संक्रमित र मृत्युदरको ग्राफ उकालो लागेको छ । यही क्रममा बढ्दै जाने हो भने अवस्था भयावह हुदैछ । आफन्त पराए भएका छन् । लास उठाउने र जलाउने मान्छे नपाउने अवस्था आई सक्यो । यस्तो अवस्थामा आम नागरिक मुकदर्शक भएर टुलुटुलु हेर्नु बाहेक केही सकिने र गर्ने अवस्था छैन ।

    अक्सीमिटर, रेमडिसिभिर जस्ता औषधिमा कालोबजारी न अनुगमन न कार्वाही हुँदा अवस्था यस्तो विकराल छ । यसैले यस्तो अवस्थामा सरकारले ६ महिना स्वास्थ्य संकटकाल घोषणा गरेर सम्पुर्ण स्वास्थ्यको जिम्मा नेपाली सेनालाई दिएर वर्तमान समस्यालाई समाधान गर्नुपर्दछ ।

    स्वास्थ्य मन्त्रालयको तर्फबाट हरेक दिनको प्रेस ब्रिफिंगमा अझै केही महिना विकराल अवस्था आउने कुरा वताईरहेका छन् । सरकार, डाक्टर, जनस्वास्थ्यविद्, बारम्बार यही भनिरहेका छन्, यो रोगलाई खेलाची नसम्झौ, भीडमा नजाऔं, भीडभाड नगरौ ? अत्यन्तै जरुरी काम बाहेक घर बाहिर ननिस्कौ ! औषधी भ्याक्सिन नलगाउन्जेल स्वयम् नागरिक सचेत बनौ भनेको हामी सबैले सुनेकै छौ । तर त्यसको कत्तीको पालना गर्यौ त ? सरकारले ? नागरिकले ? यो नै यक्ष प्रश्न हो ।

    यहाँ उठान गर्न लागिएको विषय के हो भने नेपालमा कोरोना कोभिड-१९ को नयाँ भेरियन्ट संक्रमण अत्यन्तै तीब्र गतिले फैलिएको कारण यसको नियमन र नियन्त्रण गर्ने निकाय स्वास्थ्य मन्त्रालय नै हो । स्वास्थ्य मन्त्रालयले वर्तमान समयमा प्रभावकारी ढंगबाट भुमिका खेल्न नसकेको कुरा स्वयम् सरकारले स्वीकारी सकेको छ । यती हुँदा हुँदै पनि सरकारको तर्फबाट आफ्नो सिमित स्रोत र साधनको भरपुर प्रयोग गरेकै हो तर प्रभावकारी देखिएन ।

    त्यसै कारण अव अरु थप जोखिम हुन नदिन र नियन्त्रण गर्न सरकारले सेना परिचालन गर्ने र यसलाई थप कड़ाई गरी प्रभावकारी भुमिका सेना बाहेक अरु निकायले गर्न सक्दैनन् भन्ने ठम्याई आम नागरिकको भैसकेको छ । यस जनमतलाई कदर गर्दै सबै राजनैतिक पार्टीहरुले कुनै विलम्ब नगरी मुख खोलौ सर्वदलीय सर्वपक्षिय संयन्त्र वनाई सेना परिचालन गरी यो महामारीको संकट टारौ । 

    कोरोना फैलनुमा केही प्रतिनिधी घटना हेरौ
     ⁃ सरकारको प्रेस मिटमा ३ दर्जन भन्दा बढी पत्रकार र त्यतीकै संख्यामा कर्मचारी हुनु,
     ⁃ धरहरा, राममन्दिरमा ठुलो संख्यामा जनता उपस्थित हुनु,
     ⁃ होली, मच्छिन्द्रनाथको रथ तान्नु, बिस्केट जात्रामा भीड हुनु, 
     ⁃ साना ठुला सभा सम्मेलन हुनु,
     ⁃ राजनैतिक दलहरुको बैठकमा १०० जना भन्दा धेरैहुनु ।
     ⁃ खुल्ला सिमानाबाट दिनहुँ हजारौको संख्यामा निर्वाध प्रवेश हुनु ।
     ⁃ खाद्यान्न र मालवाहक गाडीबाट मानिस ओसार पसार हुनु ।
     ⁃ सत्तारूढ़ पार्टी विवाद हुँदा प्रधानमन्त्री केपी ओली र नेपाल पक्षका सभा जुलुस माइतीघर मण्डला, पार्टी प्यालेसमा देखिनु, 
     ⁃ २५ जना भन्दा बढी भेला हुन नपाउने भन्दा भन्दै बिवाह, ब्रतवन्ध, भोजभतेर भईरहनु र प्रशासनले नियन्त्रण नगर्नु,
     ⁃ विद्यालय, सिनेमाघर, क्लव, जिमखाना, पार्लर  चलाउनु ।
     ⁃ मठ, मन्दिर, बिवाह, ब्रतवन्ध, घाट, अस्पताल, तरकारी बजार, सडक पेटीमा पसल भिडभाड भैरहनु ।
     ⁃ 
    सेनासँग औषधि छ त ! हो, सेनासंग पक्कै औषधि छैन आम प्रश्न र जिज्ञासा पनि आए ! पक्कै पनि सेनासँग औषधि त छैन । तर सेनासँग लगन र अनुशासन छ त्यो नै वर्तमान समयको अचूक औषधि हो । कोरोना नियन्त्रण गर्न कठोर अनुशासनबाट मात्र सम्भव हुन्छ त्यो पुष्टी चीन, कोरिया, युरोपीय देश, अष्ट्रेलियाले गरेर देखाइ सक्यो ।

    त्यसैले नेपाली सेना आफैमा अनुशासित छ । सेनाले मात्र वर्तमान समयमा अनुशासनमा राख्ने ल्याकत राख्छ र सक्षम पनि छ । सेनामा चेन अफ कमाण्ड चल्छ । दिएको आदेश भन्दा अरु मान्दैन सुन्दैन । सिडियो, सांसद, सचिव सहसचिव, कार्यालय प्रमुखहरुलाई ........ विषयगत काम बाहेक चिन्दैन । सिर्फ काम र आदेश पालना गर्छ । त्यही भएर सेना परिचालन गर्नुपर्छ भनेको हो ।

    सेना परिचालन गर्दा नागरिकलाई पक्कै मर्का पर्ला । दैनिक ज्यालादारी कामकाज गर्ने वर्गलाई मर्का पर्ला त्यो वर्गका नागरिकलाई स्थानीय तहबाट खानपिनको व्यवस्थापन गरौ । केन्द्रदेखि स्थानीय तहसम्म सबैको अपनत्व हुने गरी पारदर्शी संयन्त्र बनाई नागरिकका समस्या बुझ्ने र समस्या समाधान गर्ने गरी सेना परिचालन गर्नुपर्छ ।

    गत वर्ष विरगंज, बाँकेमा सेना परिचालन गर्दा कोरोना नियन्त्रणमा आयो समाचार पनि सुन्यौ । नियन्त्रणमा आएको तथ्यांकले पनि देखायो । त्यहाँ सेनाले औषधि बाँडेको थिएन । त्यहाँ छाडा र हेपाहा नागरिकलाई अनुशासन सिकाएको थियो त्यसैले छिट्टै नियन्त्रणमा आयो । त्यहाँ सेनाले राम्रो काम गर्यो भनेर निकै प्रशंसा गरेका थिए नागरिक समाज र स्वयम् कोरोना संक्रमित विरगंज उप नगरपालिकाका मेयर ओम सरावगीजीले ।

    राम्रा र उदाहरणिय काम गर्न किन आपत्ती ? प्रश्न यही हो । त्यसै कारण अनुशासन कायम राख्न सेनालाई परिचालन गर्दा वर्तमान समयमा उपयुक्त होला कि भनिएको हो ! सेना परिचालन सरकार कै माताहतमा रहने हुँदा किन शंका उपशंका ? 

    वर्तमान सरकारले कोरोना नियन्त्रणमा विगतका दिनहरुमा निकै ठुलो गल्ती गरिसकेको छ । १ बर्ष सम्म न अस्पताल बन्यो ? न आईसियु थपियो ! न भ्यान्टिलेर जडान गरिए ! न अक्सिजनको प्लाण्ट बन्यो ! न खोप ल्याउन तदारुकता देखियो ! सिर्फ़ औषधि लगायत सबै क्षेत्रमा कमिशन कमिशन भनेर बर्ष बित्यो । त्यसैले पनि सेना परिचालन गर्नुपर्छ कोरोना नियन्त्रण गर्न ।

    कतै यस्तो नहोस् । अव यसो नहोला भन्न सकिन्न ? कोरोना संक्रमणको वृद्धिदर यही अवस्था बढी रहने हो भने प्रत्येक घर या नातेदार मध्ये एकको मृत्यु हुनेछ। जसको कारण हामी पछुताउदै परिवारको एउटा सदस्य गुमाएको पिडाले सरकार, जनप्रतिनिधी, डाक्टर, सरकारलाई सत्तोसराप गर्नु नपरोस !

    त्यो भन्दा पहिल्यै हामीले सरकारलाई प्रभावकारी उच्चस्तरीय कोरोना संक्रमण नियन्त्रण सम्वन्धि सर्वदलीय उच्चस्तरीय समिति वनाउन दवाव दिऔ । विश्वमा प्रयोग भएका कोरोना नियन्त्रण सम्वन्धि सफल र प्रभावकारी कार्यविधी, आचारसंहिता बनाऔ बनाउन सरकारलाई सल्लाह सुझाव दियौ ।

    तत्पश्चात् सरकारले सेना परिचालन गरोस । हामीले कोरोना प्रयोजनको काममा सबै तह र तप्काबाट सहयोग गरौ । यसमा नै सबैको भलाई छ । नत्र पछुताउनु वाहेक केही हुन सक्दैन । सबैलाई चेतना भया ! 

    -लेखक पन्त शिक्षाकर्मी हुन् । 

    यो पनि पढ्नुहोस्, किसुनजीको मेलम्ची सपना के.पी. ओलीबाट पुरा

    २०७८, बैशाख २९ बुधवार०२:४१:०३

    सुन्दर पन्त

    प्रतिक्रिया
    सम्बन्धित समाचार