वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलको कोभिडलाई बुझ्ने ‘५ दिनको सूत्र’

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलको कोभिडलाई बुझ्ने ‘५ दिनको सूत्र’

२०७८, जेठ १ शनिवार

  • 2.2K
    SHARES

  • वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलको कोभिडलाई बुझ्ने ‘५ दिनको सूत्र’

    काठमाडौं । काठमाडौं– वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ती अनिलले नेपालमा पछिल्लो समय तिब्र रुपमा बढिरहेको कोरोना भाइरसको संक्रमणलाई नजिकबाट बुझ्न सके यसको प्रभाव कम गर्न सकिने धारणा व्यक्त गरेका छन् । 

    डा.ओम मूर्ति अनिलले संक्रमितहरुलाई दिइने अलिकति ध्यान, अलिकित केयर तथा अलिकति मोनिटरिङले अचानक हुने समस्याबाट जोगिन सक्ने बताएका छन् । 

    वसुन्धरास्थित नेशनल कार्डियक सेन्टरका निर्देशक समेत रहेका डा.ओम मूर्ति अनिलले कोरोनाकालमा हरेक व्यक्तिलाई सुरक्षित बनाउन के के गर्न सकिन्छ भन्ने बारेमा आफ्नो विचार व्यक्त गरेका छन् । 

    उनले कोरोनालाई बुझ्नका लागि ‘पाँच अंकको नियम’ अर्थात ‘रुल अफ फाइभ’ का बारेमा विष्तृत रुपमा चर्चा गरेका छन् । 

    अहिलेको विषम परिस्थितिमा हरेक व्यक्तिले यो पाँचको नियमलाई पालना गर्न सकियो भने संक्रमणबाट जोगिन सक्नेमात्र नभइ संक्रमित भैसकेपछि पनि सहजै रिकभर हुन सकिन्छ ।

    यद्यपि, यी पाँचका नियमलाई भने हरेकले गम्भिरतापूर्वक निर्वाह गर्नु पर्छ ।

    डा.ओम मूर्ति अनिलले दिनु भएको पाँचको नियम के हो त ?

    सुनौं उहाँकै शब्दहरुबाट‘....

    रुल अफ फाइव अर्थात पाँचको नियम

    हुन त अहिले कोरोनाको बारेमा धेरैलाई धेरै कुरा थाहा छ ।

    तर पनि, सबैभन्दा पहिला हामीले रुल अफ फाइव अर्थात पाँच अंकको नियम सम्झनु पर्छ ।

    रुल अफ फाइव भनेको हामीले दुई साताको अवधिलाई पाँच–पाँच दिनमा डिभिजन गरेर अघि बढ्नु पर्छ ।

    पहिलो पाँच दिनको कुरा, उदाहरणका लागि यदि तपाईं कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आउनु भयो भने अथवा त्यस्ता व्यक्तिलाई तपाईंले भेट्नु भयो भने उक्त भेटको पहिलो पाँच दिनमा अर्थात भेटेको दिनदेखि पहिलो पाँच दिन सम्ममा तपाईंमा पनि कोरोनाका सामान्य लक्षणहरु देखिन सक्ने सम्भावना हुन्छ ।

    ती लक्षणहरु हामीले थाहा पाइरहेका नै हुन्छन्, जस्तो –खोकी लाग्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने आदि ।

    यी मध्ये जुनसुकै लक्षणहरु पनि तपाईंले संक्रमित व्यक्तिलाई भेटेको पहिलो पाँच दिनमा देखिने सम्भावना बढी हुन्छ ।

    त्यसपछि यदि तपाईंलाई कोरोना सरेको छैन भने ती लक्षणहरु देखिने सम्भावना घट्छ ।

    भन्नाले, यदि तपाईंलाई कोरोना सरेको रहेछ भने पाँच दिन भित्रैमा लक्षण देखिन्छ अधिकांश केशहरुमा ।

    यसलाई हामी इन्ट्रेभेसन पिरियड भन्छौं ।

    यो जानकारीले अधिकांश व्यक्तिलाई धेरै सहयोग हुन सक्छ भन्ने मेरो बुझाइ छ ।

    किनभने तपाईंहरुको घरमा एक जनालाई मात्र संक्रमण देखियो र उसंगै बसेको अर्को मान्छेलाई पाँच दिन भित्रमा संक्रमण देखिएन भने हामी ढुक्क हुन सक्छौं ।

    अब दोस्रो पाँच दिनको कुरा

    दोस्रो पाँच दिन अलि महत्वपूर्ण छ अर्थात यी दिनहरु भनेका लक्षण देखिएपछिका दिनहरु हुन् ।

    यो अवधि भनेकै मुख्य लक्षणको अवधि हो ।

    यो अवधिमा प्राय: जीउ दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने आदि जस्ता लक्षणहरु देखिन्छ ।

    यहाँनिर महत्वपूर्ण कुरा के छ भने यी लक्षणहरु दोस्रो चार–पाँच दिन भित्रमा हराउँछन् कि हराउँदैनन् भन्ने कुरामा हामीले विशेष ध्यान दिनु पर्छ ।

    यी पाँच दिनका अघिल्ला एक–दुई दिनसम्म गाह्रो हुने र त्यसपछि बिस्तारै सजिलो हुँदै गयो भने एकदम ठिक ।

    यसको अर्थ के हुन्छ भने तपाईंलाई माइल्ड कोभिड भएको हो र यसमा हामी आत्तिनु पर्दैन र अब्जर्ब गरेर घरमै बस्दा हुन्छ ।

    र, त्यो लक्षण भएको बेलामा हाम्रो शरीरमा पानीको कमी नहोस् भनेर हामीले विशेष ध्यान दिनु अनिवार्य छ ।

    हामीले अहिलेसम्म जे सिकेका छौं, तातो पानी पिउने, प्रसस्त झोलिला खानेकुराहरु खाने, शरीरमा पानीको कमी हुन दिनु भएन ।

    यसबाहेक सेतो तथा सफा पिसाव आयो भने हाम्रो शरीरमा पानी पर्याप्त छ भन्ने कुरा बुझ्न सकिन्छ ।

    यसबाहेक यो अवधिमा वाफ लिने, गार्गल गर्ने आदि घरेलु विधिहरुका साथै खानपिनमा ध्यान दिने, निन्द्रामा ध्यान दिने, अलि अलि हिंडडूल गर्ने आदि कुराहरु अत्यन्त महत्वपूर्ण छन् ।

    सबैभन्दा महत्वपूर्ण कुरा के छ भने यदि परिवारमा कसैलाई लक्षण देखियो भने हामी सबै एक–अर्काबाट सम्भव भएसम्म टाढा बस्नु पर्छ ।

    जति वटा कोठाहरु छन्, ती सबै कोठाहरुमा छुट्टा–छुट्टै बस्नु पर्छ ।

    विशेष गरेर यदि ट्वाइलेट कमन छ भने अथवा घरमा एउटा मात्र ट्वाइलेट छ भने हामीले त्यो ट्वाइलेटलाई अलि ग्याप–ग्याप गरेर प्रयोग गर्नु पर्छ ।

    अर्थात एक जनाले प्रयोग गरेपछि कम्तिमा आधा घण्टापछि मात्र अर्को व्यक्तिले प्रयोग गर्ने गर्नु पर्छ ।

    अर्को कुरा, ट्वाइलेट जाँदाखेरी जहिले पनि मास्कको अनिवार्य प्रयोग गर्नु पर्छ ।

    ट्वाइलेटमा भेन्टिलेसन छ भने त्यसलाई खुल्लै राख्नु पर्छ, किनभने यो ट्वाइलेटबाट पनि सर्ने सम्भावना बढी हुन्छ ।

    घरमै भएको बेला खोक्दा, हाछ्यूँ गर्दा हामीले विशेष सावधानी अपनाउनु पर्छ ।

    त्यस्तो बेलामा एउटा ठूलो टबेलमा खोक्ने र हाछ्यूँ गर्ने बानी बसाउनु पर्छ ।

    खोक्दा र हाछ्यूँ गर्ने बेलामा मास्कले मात्र सबै भाइरसहरुलाई रोक्न सक्दैनन् ।

    यसका साथै वार्तालाप अर्थात कुराकानी गर्ने बेलामा पनि मुखबाट निस्कने छिटाहरुमार्फत भाइरसहरु निस्कने भएका कारणले त्यो बेला पनि मास्क लगाउनु अनिवार्य हुन्छ ।

    एक-अर्कासंग कुरा गर्ने क्रममा अथवा नजिक आउँदा पनि मास्क लगाउनु जरुरी हुन्छ ।

    त्यसैले सकेसम्म घरमा बस्दा पनि, संक्रमण नभएको अवस्थामा एक–अर्काको नजिक जाँदा मास्क लगाउनु नै उत्तम हुन्छ ।

    यो लक्षणको पीरियड, जुन मोटामोटी पाँच दिनको हुन्छ, यी पाँच दिनमा तपाईंलाई धेरै गाह्रो भयो भने, ज्वरो घटेन भने, ज्वरो आइरह्यो भने, १०३–४ डिग्रीसम्म पुग्यो भने, ज्वरो आएको बेला प्यारासिटामोल खानु पर्छ ।

    त्यसले पनि ठिक भैरहेको छैन भने बुझ्नु पर्छ यो जटिलतातिर जान सक्छ ।

    तीन–चार दिनसम्म पनि यदि ज्वरो बढ्दै गयो भने हामी मेडिकल कन्ट्याक्टमा आउन जरुरी हुन्छ ।

    र, त्यो बेला तपाईंले केही टेस्टहरु गराउन सक्नु हुन्छ ।

    ती टेस्टहरुमा ब्लडको टेस्ट हुन सक्छ, एक्स रे हुनसक्छ, चिकित्सकले तपाईंको अवस्था हेरेर प्लान गर्छन् ।

    तेस्रो पाँच दिनको अवस्था

    तेस्रो पाँच दिनको अवस्था भनेको जटिलताको समय हो अर्थात लक्षण देखिएको पाँच दिनपछि हामी जटिलताको फेजमा प्रवेश गर्न थाल्छौं ।

    र, यदि कुनै व्यक्तिलाई कोभिड भएको छ र उ जटिलतातर्फ जाने हो भने यही पाँच दिनमा देखिने सम्भावना सबैभन्दा बढी हुन्छ ।

    त्यसैले यस्तो बेलामा तपाईंलाई ज्वरो आएको छ कि छैन, ज्वरो बढिरहेको छ कि, खोकी झन् बढेको छ कि, स्याँ–स्याँ हुन थालेको छ कि, तपाईंलाई ज्वरो नआउँदा पनि स्याँ–स्याँ भैरहेको छ कि, मुटुको धड्कन बढिरहेको छ कि, कमजोरी धेरै भैरहेको छ कि, पहेंलो–पहेंलो खकार आउन थालेको छ कि, खोक्दा खेरी छाति दुख्छ कि ?

    यदि यी समस्याहरु देखिए भने यी कोभिड निमोनियाका लक्षणहरु हुन् ।

    तपाईंलाई एकदमै जाडो लाग्ने, काम्ने, उच्च ज्वरो आउने आदि लक्षणहरु देखिने बित्तिकै यसले कोभिड निमोनियाको संकेत गर्छ ।

    यही अवधिमा यदि तपाईंले अक्सीमीटरले आफ्नो अक्सिजन नाप्नु भयो र ९५ भन्दा कम आयो भने बुझ्नु पर्छ यो नियोनियाको लक्षण हो र यो अवस्थामा तुरुन्तै अस्पताल भर्ना हुनुपर्छ ।

    यस्तो बेलामा तपाईंलाई अक्सिजन चाहिन सक्छ ।

    र, अहिले जुन औषधिहरु जस्तै डेक्जामेथासोन र अन्य औषधिहरु छन्, यदि हामीले अर्लि स्टेजमा कोभिड निमोनियाको अर्लि स्टेजमा हामीले यी औषधि दियौं भने यसले फाइदा गर्छ र जटिलतातिर जानबाट हामीलाई रोक्न सक्छ ।

    त्यसैले यो समय पत्ता लगाउन एकदमै अनिवार्य र महत्वपूर्ण छ ।

    कुन बेला हामी अस्पताल जाने, कुन बेला हामीले डाक्टरसंग जँचाउने भन्ने कुरा थाहा पाउन अनिवार्य छ ।

    त्यसैले यो पाँच दिनमा हामीले नियमित रुपमा आफ्नो लक्षणलाई पनि निगरानि गर्नु पर्छ र संग–संगै हामीले आफ्नो अक्सिजन नाप्ने, नाडी नाप्ने जस्ता कार्यहरु सजिलैसंग घरमै बसेर पनि गर्न सकिन्छ । तर यसमा ध्यान दिन जरुरी छ ।

    र, अर्को पाँच दिन हामी निस्क्यौं र हामीलाई केही गाह्रो भएन भने अन्तिम पाँच दिन अर्थात १० देखि १५ दिनमा अलि अलि रिकभरी फेज हो ।

    यो फेजमा आइसक्नु भएको छ भने, तपाईंलाई खासै गाह्रो भएको छैन भने बुझ्नुहोस् तपाईंले कोभिडलाई जितिसक्नु भएको छ ।

    र, यसमा चाहिँ अलि अलि खोकि रहन सक्छ ।

    कमजोरी रहन सक्छ ।

    यस्ता कुरा रहे पनि यीनले तपाईंको शरीरलाई खासै असर गर्दैन ।

    नाकले वासना थाहा नपाउने, जिब्रोले स्वाद थाहा नपाउने जस्ता लक्षणहरु रहन सक्छन् ।

    र, यसले हामीलाई केही बिगार्ने भन्ने हुँदैन, हामी सजिलै रिकभर गर्न सक्छौं ।

    र यस्तो बेलामा १०–१२ दिनसम्म पनि केही असर भएको छैन भने अब तपाईं एक–दुई दिनमा रिकभर भएर १५ दिनपछि तपाईं आफ्नो नियमित काममा फर्किन सक्नु हुन्छ ।

    यसबीचमा हामीले निगरानि गर्नु पर्ने कुरा के छ निम्न लिखित अवस्थाका व्यक्तिहरु कोरोना संक्रमणको जटिलताको उच्च जोखिम वर्गमा हुनुहुन्छ, जस्तै :

    -उमेर ५५–६० भन्दा बढी
    -मोटोपना भएको
    -चुरोट बढी सेवन गर्ने
    -मधुमेह भएको
    -कुनै दीर्घ रोग लागेको
    -इम्यूनिटी कम भएको जस्तै गर्भवती अथवा अत्यन्तै वृद्ध मानिसहरु

    यदि तपाईंहरु पनि यस्ता वर्गमा पर्नु हुन्छ भने लक्षणले कहिलेकाहिं धोका दिन सक्छ ।

    अर्थात कहिलेकाहिं तपाईंलाई ज्वरो नआए पनि नियोनिया हुनसक्छ ।

    तपाईंलाई धेरै खोकी नलागेर पनि गाह्रो भएको हुनसक्छ ।

    यस्ता व्यक्तिहरुलाई हामीले विशेष निगरानी अथवा ५ देखि १० दिनबीचको जुन पिरियड छ, त्यसमा विशेष निगरानी अपनाउनु पर्छ ।

    तपाईंको अक्सिजनको मात्रा पटक पटक घट्ने, नाडीको धड्कन सय भन्दा कति बढी छ र यी कुराहरु ज्वरो नआए पनि भएको छ भने यो नराम्रो संकेत हुनसक्छ ।

    त्यसैगरी हामीले स्वासको गति कति छ, मिनेटमा २४ भन्दा बढी छ भने त्यो पनि नराम्रो मानिन्छ ।

    यसबाहेक खाना नरुच्ने, हिंड्दाखेरी एकदमै असक्त अथवा शिथिल हुँदै जाने, यस्तो लक्षणहरु आउनु भनेको, यसले के भन्छ भने तपाईंलाई कोभिड नियोनिया अथवा जटिलताको असर बताउँछ ।

    भन्नाले हामीले कोभिड पोजिटिभ आए पनि यदि नआत्तिकन यो सबै कुरालाई निगरानि गर्दै गयौं भने, लक्षण अनुसार हामीले एक्सन लिंदै गयौं भने, हामीले रोगथामको उपायहरु अपनाउँदै गयौ, लक्षणलाई उपचार गर्दै गयौं भने, कुनै कमजोरी गरेनौं र घर परिवारमा अरुलाई सर्न दिएनौं भने, जटिलता समुहमा पर्नु हुन्छ भने, जटिलताका बारेमा मेन्टली प्रिपेयर हुँदै गयौं भने, एउटा अस्पतालमा कन्ट्याक्ट गरेर बेडहरुको पनि व्यवस्था गर्दै गयौं भने हामीले ठूलो दूर्घटनाबाट आफ्नो मान्छेलाई बचाउन सक्छौं ।

    त्यसैले अहिले हामी के देख्छौं भने अधिकांश कोभिडका बिरामीहरु आफैं ठिक हुन्छन् ।

    जुन केश जटिलतातिर जान्छ, हाम्रो अलिकति ध्यानले, अलिकति केयरले, अलिकति मोनिटरिङले अचानक हुने समस्याहरुबाट हामी जोगिन सक्छौं ।

    र यो कुरा सबैले ध्यान दिनु पर्छ जस्तो लाग्छ । धन्यवाद । - कलाकर्मी डटकमबाट

    २०७८, जेठ १ शनिवार०५:१८:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार