काठमाडौँ । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई कोरोना ९कोभिड–१९०को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो ।
कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीका विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो । त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको छ ।
बोर्डका अध्यक्ष डा। पौडेलले आफूहरूले कार्यदलकै अध्ययन प्रतिवेदन पर्खेको र त्यसकै आधारमा उपयुक्त विकल्पमा निर्णय गरिने जानकारी दिए । कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
छिट्टै अध्ययन सक्ने
परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न गठित कार्यदलले छिट्टै अध्ययन पूरा गर्ने जनाइको छ । कार्यदलका सदस्य तथा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अनप्रसाद न्यौपानेले सरोकारवालासित सुझाव लिने क्रम जारी रहेको जानकारी दिए ।
कार्यदलले यस अवधिमा शिक्षकका पेसागत सङ्घ सङ्गठन, निजी विद्यालय सञ्चालक, सार्वजनिक विद्यालयका प्रधानाध्यापक लगायतसित छलफल गरिसकेको छ । बिहीबार यस विषयमा छलफल गरेपछि प्रतिवेदन लेखनको चरण प्रवेश गर्ने जनाइएको छ ।