काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)मा अहिले पार्टी जोगाउन चाहने र पार्टी भत्काउन चाहनेको"अन्तिम युद्ध" जारी छ । एमालेले देउबालाई प्रधानमन्त्री बनाउन अनधिकृत हस्ताक्षर गर्ने माधव झलनाथ सहितलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय सभाको उप-चुनावमा एमाले उम्मेद्वार रामबहादुर थापा(बादल)लाई हराउन सकृय अष्टलक्ष्मी शाक्यलगायत १४ प्रदेशसभा सदस्यलाई पनि कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
संविधानतः वैकल्पिक सरकार बन्ने सबै संभावना सकिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मौजुदा प्रतिनिधिसभा भंग गरी आगामी कात्तिक २६ र मंसिर ३ गते दुई चरणमा गर्ने गरी निर्वाचनको मिति तोकिए पछि देश नयाँ राजनीतिक कोर्समा गएको छ । हुन त आफ्नै पार्टीभित्रबाट चौतर्फी घेराबन्दी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद विघटन गर्ने निर्णय गर्नुभएको थियो । तर वैकल्पिक सरकार बन्न दिईनु पर्ने संवैधानिक प्रक्रिया बाँकी भएको भन्दै संसद पुनर्स्थापना गरिदिएको थियो । तर त्यो संसद लामो समयसम्म रहन सकेन । तर विडम्बना, संसदीय व्यवस्थाको घेरामा मात्र सीमित हुन नचाहने कम्युनिष्ट पार्टीको सत्ता कायम हुदा प्रचण्ड र माधवलगायतका केही नेताहरू नै संसदवादको वकालत गरिरहेका छन् । परम्परागत लोकतन्त्रवादी भन्दा बेजोड लोकतन्त्रवादी भएर निस्केका छन् ।
विगतमा मिलेर सरकार बनाएका एमाले र माओवादी छुट्टिएपछि निकै प्रयास गर्दा पनि न ओली सरकारले संसदमा बहुमत सिद्ध गर्न पनि सक्ने न विपक्षीहरुले वैकल्पिक सरकार बनाउन बहुमत जुटाउन पनि सक्ने अवस्थाले अब निकास पाएको छ । राज्यका निकायले निकास दिन नसकेको यो विषयलाई अब सार्वभौम जनताको अभिमतले निकास दिनेछ ।
संविधानको अक्षर र भावनावमोजिम गरिएको संसद विघटन र निर्वाचनको घोषणाले नेपाली राजनीतिमा एकाएक तरङ्ग ल्याएको छ । जनतामा राम्रो पकड भएका नेताहरूले निर्वाचनलाई सहर्ष स्वीकार गरेका छन् भने निर्वाचनले आफ्नो राजनीतिक जीवन नै समाप्त पार्ने डर भएका नेताहरूलाई रिङ्गटा लागेको छ ।
निर्वाचनको घोषणाले एमालेका बागी नेता माधव नेपाललाई सबभन्दा उच्चस्तरको रिङगटा लागेको छ । विगतमा पेरिसडाँडा कार्यालयमा प्रचण्डको नेमप्लेट मुनी आफ्नो नेमप्लेट राखेर राष्ट्रपति र प्रधानमन्त्रीविरोधी मोर्चामा खटिएको बखत अदालतले एमाले ब्युँझाइदिएपछि (एमालेभित्रैबाट ओली सिध्याउने) उद्घोषसहित एमालेमा फर्किएका उनी एक पछि अर्को लफडामा फस्दै गएका छन् । परिवर्तनकामी जनताको नजरबाट निरन्तर गिरिरहेका छन् । पछिल्लो चरणमा देखिएको उनको कम्युनिष्टविरोधी क्रियाकलापले हिजो उनलाई निःशर्त सहयोग गरेका सयौं नेता र हजारौं कार्यकर्ताले सदाको लागि पारपाचुके गरेका छन् । एमालेबाट हात धुनुपर्ने स्थितिमा उनको राजनीतिक जीवन अन्धकारमय सुरुङमा प्रवेश गर्ने निस्चित छ ।
एमालेबाट चोइटिएर नयाँ पार्टी खोले पनि जनताले उनीहरूलाई मत दिएर जिताउने मौका शून्य प्रायः छ । दुई/दुई निर्वाचन क्षेत्रबाट निर्वाचन हारेका माधब नेपालले गिरिजाप्रसाद कोईराला र पुष्पकमल दाहाल(प्रचण्ड)संग अनुनय/विनय गरेर प्रथम संविधानसभाको सदस्य भएको र सोही मेसोमा पार्टीभित्र ओली/विद्याको सहयोगमा बाइस महिने प्रधानमन्त्री भएको ईतिहास सबैले बिर्सेका छैनन् ।
डेढ दशक एमाले सुप्रिमो हुँदा एमालेलाई जमेको पानीजस्तो बनाएको पनि भुक्तभोगीहरूलाई थाहा नहुने कुरो भएन । शीघ्रातिशीघ्र पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी समक्ष विगत एक बर्षदेखि आफूले गरेका पार्टीविरोधी हर्कतको लिखित-मौखिक आलोचना गरेर पार्टीले दिएको थान्कामा बस्ने अन्तिम मौका नअजमाउने हो भने मध्यावधि निर्वाचनको 'प्रतिगमन'ले माधव नेपालको राजनीतिक महत्वाकाङ्क्षाको सदाका लागि शमन गरिदिने छ ।
मध्यावधि निर्वाचनको घोषणाले माधव नेपालकै पैमानामा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई रिङ्गटा लागेको छ । माओवादी जनयुद्धको दश बर्ष कसरी विपक्षीलाई भौतिक रुपमा सिध्यागने ध्याउन्नमा वित्यो । त्यो अवधिमा सयौं होनहार नेता कार्यकर्ता मारिए ।
शान्ति प्रक्रियामा आएपछि पनि उनको यो बानी हराएन । प्रधानमन्त्री हुँदा कहिले प्रधान सेनापति सिध्याउन लागे, कहिले पशुपतिका पुजारी । कहिले ओलीको उछित्तो काढे त कहिले गिरिजालाई । कहिले चिनिया कम्युनिष्ट पार्टीको विश्वास पात्र बन्न खोजे त कहिले भारतीय खुपिया एजेन्सी रअसंग अन्तरङ्ग उठबस गर्न पुगे । देशभरका आफ्ना कार्यकर्ता बोलाएर काठमाण्डौ कब्जा गर्ने उटिपट्याङ आन्दोलन गरे । थाहै नपाई आफ्नै सहकर्मीको चरित्रहत्याको साजिस गर्ने प्रचण्ड एमाले सिध्याउन कहिले नेपाली काङ्ग्रेसको चुकुल बने त कहिले आफ्नो अस्तित्व जोगाउन एमालेकै काखमा लुटुपुटु गर्न आईपुगे ।
एमालेमा मिसिएको केही समय नवित्तै माधव नेपालसमेतलाई भड्काएर ओलीविरुद्ध दक्षिणपन्थी साँठगाँठ गर्न पुगे । यसरी उनको राजनीतिक जीवन भित्ते घडीको पेन्डुलम जस्तै हुन पुगेको छ । आज उनी न भूतो न भविष्यति सङ्कटमा छन् । जेनतेन दशबर्ष पार्टी जोगाएर विद्रोह गरेका प्रचण्ड शान्ति प्रक्रियामा आएपछि पार्टीमा एक पछि अर्को विखण्डन शुरु भयो ।
जनतामा युद्धका सुन्दर कथा सुनाउनु बाहेक उनीहरूसंग देश निर्माणको कुनै एजेण्डा प्रस्तुत गर्न सकेनन् । न हाँसको चाल न कुखुराको चालमा हिडेका प्रचण्ड मरिच चाउरिए सरी चाउरिएका छन् । नेपाली काङ्ग्रेस वा अरु ठूला दलले सञ्जिवनी नदिए उनी नेपालको राजनीतिको मूलधारबाट ओझेल नपर्लान् भन्न सकिन्न । त्यही कारण चुनाव भनेपछि निन्द्रामा पनि झस्कने हालतमा छन् उनी ।
नेपाली काङ्ग्रेसका अल्पमत पक्षका नेता रामचन्द्र पौडेल, पहाडमा 'नयाँ शक्ति' विसाएर मधेश ओर्लेका डा.बाबुराम भट्टराई, आफूलाई मात्र मधेश आन्दोलनको मसिहा ठान्ने उपेन्द्र यादव ठीक यही हालतमा छन् । निर्वाचन हुने नै भएपछि वास्तवमा उनीहरू आफैं होसहवास छन् । पराजयको पीडाले अहिले नै भतभत पोल्न थालेको छ ।
संविधानको रक्षा र सिर्जनात्मक कार्यान्वयन गरिरहेका राष्ट्रपति र प्रधानमन्त्रीतर्फ धारे हात लगाएर विभिन्न बकवास गरिरहेछन् । र, पदका लागि पार्टीका शीर्ष नेताबाटै भएको सांसदको हस्ताक्षरको दुरुपयोग, किर्ते हस्ताक्षर तथा पार्टी व्यवस्थाविरोधी हस्ताक्षरलाई राष्ट्रपतिले मान्यता नदिंदा नयाँ रोइलो शुरू भएको छ ।
नेपाली जनताको बलिदानले स्थापित राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई हिलो छ्याप्ने काम पुःन शुरू भएको छ । निर्वाचनमार्फत् जनताले पाँच बर्षको लागि स्थीर सरकार दिने र नेताहरूले प्रधानमन्त्री बन्न पाँच बर्ष पालो कुर्ने धैर्य विकास नभई यो समस्या निराकरण हुदैन । ओली नेतृत्वको कम्युनिष्ट सरकारको रीसले धरासायी हुदै गरेको दक्षिणपन्थीको चुकुल बन्न जाने हो भने प्रचण्ड, माधव, झलनाथ, बाबुराम कसैको पनि राजनीति सुरक्षित हुदैन ।
यो पनि पढ्नुहोस् -एमालेका निलम्बितको नियतिः डक्टर फस्टस कि सिसीफस ?