काठमाडौं । जनताको अभिमत नबुझी चल्ने राजनीतिका हिरोहरू जिरो हुन कुनै आइतबार पर्खनु नपर्ने रहेछ । कुनै बेलाका एमाले सुप्रिमो माधव नेपालको जीवनमा यो देखा पर्दैछ । जनताले भरोसा गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी(एमाले) चोइट्याएर एउटा कोटरी पार्टी बनाएको एक हप्ता पनि नवित्तै माधव नेपाल सार्वजनिक समारोहमै भक्कानिन थालेका छन् ।
आफूलाई एमालेको दोस्रो पुस्ताले छोड्यो, धोका दियो भनेर भक्कानिएका माधव नेपालको आगामी यात्रा हाँसोको हुने छैन, केवल रोदनको मात्र हुनेछ । गल्ती महसुस गरेर एमालेमै नफर्किउन्ज्याल उनको हालत यही हुनेछ । ०३२ सालको जोस सम्झेर दुई चार दिन कुर्लन त सकिएला तर जनताले नपत्याएपछि नौनाडी गल्न थालिहाल्छन् ।
जनताले छोड्न थालेपछि कुनै नेता पानी बाहिर निकालिएको माछाजस्तै बनिहाल्छ । माधव नेपालमा अहिले देखापरेको जोस त एक निवृत्त सिपाहीको जस्तो हो । निवृत्त सिपाहीले आफूलाई रिस उठेको मानिसलाई गोलीले उडाउने कुरा गर्छ, तर न ऊसँग बन्दुक हुन्छ, न गोली नै । न उडाउने आँट नै ।
०४६को जनआन्दोलन सफल भएदेखि नै नेकपा(एमाले)को सम्पूर्ण पङ्क्तिले माधव नेपाललाई अग्र पङ्क्तिमा राखेर जयजयकार गर्दै आएको हो । उनले चाहेको पद दिँदै आएको हो । लामो समयको पार्टी नेतृत्व सुम्पियो, प्रधानमन्त्री बनायो । यो अवधिमा उनले एमालेका विशाल जनसागरलाई सम्बोधन गरे, विभिन्न निर्देशन जारी गरे, पार्टीको प्रतिनिधित्व गरेर संसार घुमे ।
त्यो अवधिमा वर्तमान एमाले अध्यक्ष के पी शर्मा ओलीलगायत अरू एमाले नेताले खुरुखुरु नेता मानिदिनु पर्यो । उनको आदेश मानिदिनु पर्यो । तर जब पार्टीको नवौं महाधिवेशनले ओलीलाई अध्यक्षमा निर्वाचित गर्यो, तब उनले ओलीको नेतृत्व मान्न अस्वीकार गरे, विद्रोह गरे, आफ्नो पार्टीको सरकार ढाल्न विपक्षीको एजेन्ट बने र अन्त्यमा पार्टी नै चोइट्याएर हिँडे ।
तिनलाई थाहा नभएको होइन, पार्टी विभाजनको हर्कत्लाई नेपाली जनताले मन पराउँदैनन् । पार्टी विभाजनको औचित्य पुष्टि उनले कुनै हालतमा गर्न सक्दैनन् । तर उनमा रहेको इगो र कुण्ठाको कारण उनी आज भड्खालोमा परे । 'म नेता हुँ नेता' भनेर भ्यागुत्तो फुलेझैं फुल्दाफुल्दै अकल्पनीय ढङ्गले फसे । 'रिस खा आफू, बुद्धि खा अर्को' त्यसै भनिएको होइन शायद ।
यहाँ सानो छँदा पढेको 'गोनु झा'को कथा स्मरण हुन्छ । कुनै कारणले एक पटक ब्राम्हण गोनु झा इनारमा खस्छन् । उनलाई इनारबाट बाहिर ल्याउन गाउँलेहरू इनारको वरिपरि जम्मा हुन्छन् । गोनु झालाई हात दिन सबैले आग्रह गर्छन् । जति आग्रह गर्दा पनि गोनु झाले हात दिदैनन् । सबै छक्क पर्छन् । आखिर एकजना गाउँका जेष्ठ नागरिकले समस्या पत्ता लाउँछन् ।
उनले सुझाए- गोनु झाले दिन जानेकै छैन । लिनमात्र जानेको छ । त्यसकारण तिमीहरू उनलाई हात देओ, अनि उनी तिमीहरूको हात समातेर इनार बाहिर आउँछन् । गाउँलेले त्यसै गरे र गोनु झा इनार बाहिर आए ।
माधव नेपालले जीवनमा दिन जानेकै छैन, लिनमात्र जानेको हो । एमालेका सबैको समर्थनमा बन्नु पर्नेजति सबै बनेका नेपाल आज ओलीलाई समर्थन दिन नजानेर असफलताको गहिरो इनारमा परेका छन् । र छोटो अवधिमै रोइलो गर्न थालेका छन् ।
प्रधानमन्त्रीको एक कार्यकाल र पार्टी अध्यक्षको एक कार्यकाल माधवले ओलीलाई पूरा गर्न दिएको भए देश र पार्टीको यो हालत हुने थिएन । उनको यो विजोग पनि देख्नु पर्ने थिएन ।
हिजो एमालेका भीमकाय भेला सभालाई सम्बोधन गरेका माधव नेपाल आज एक दुई दर्जन मानिस बटुलेर आँसु मिसाएको भाषण गर्दैछन् । जवानीमा जङ्गलमा ठुलाठुला शिकार गरेको सिंहले बुढो भएपछि ज्यान जोगाउन झींगा टिपेजस्तै । 'बुढो भएको बाउ, फट्याङ्ग्रो टिपी खाउ' भनेजस्तै । 'एमाले सिध्याउने' हाँसोलाग्दो हुङ्कार गर्दैछन् । एमाले कुनै जादुगरले फू गर्दा रुमाल गायब भए जसरी गायब हुने शक्ति हो र ?
आफ्नामात्र बर्कत् र बुताले बाहिर आउन नसक्ने खाडलमा परेका माधव नेपाललाई अहिलेका गठबन्धनका कोही नेताले उद्धार गर्ने छैनन् । किनभने प्रचण्ड, देउबा, उपेन्द्र, बाबुराम सबै गोनु झाजस्तै लिनमात्र जान्ने, दिन नजान्ने क्याटेगोरीका नेता हुन् ।
उनीहरूलाई माधव नेपाल बर्बाद भएको हेर्न मन छ । त्यो हेरेर अट्टहास हाँस्न मन छ । एमाले कमजोर बनाउने उनीहरूको उदेश्य पुरा भयो, अब उनीहरूले माधवलाई हिजोको देउता मानेजस्तो मानमनितो दिन छोड्छन् ।
समकालीन नेपाली राजनीतिमा दिन पनि सक्ने लिन पनि सक्ने एकमात्र नेता त के पी शर्मा ओली हुन् । माधव नेपाललाई वोक्दा-बोक्दा संभवतः उनको काँध सबभन्दा बढी गलेको हुनुपर्छ ।
नेता होइरहन जनताको समर्थन चाहिन्छ । चुनावमा जनताको अभिमत चाहिन्छ । भालेश्वरमा भाँडाकुटी खेलेर माधव नेपालले बनाएको 'पार्टी'ले त्यस्तो अभिमत पाउने कुनै संभावना छैन । किनभने उनीसँग विचार छैन, अजेण्डा छैन ।
मैले पद पाइन भनेर जनतामा उनले कुन मुखले जानु ? म एमालेभन्दा भिन्न हुँ भनेर जनतालाई कसरी देखाउनु ? पन्ध्र वर्ष एमालेको नेतृत्व गर्दा माखो मार्न नसकेका माधव नेपालले नयाँ पार्टी बनाउँदैमा के-के न हुन्छ भनेर जनताले कसरी पत्याउनु ? जनताले खुट्टी हेरेरै थाहा पाइसके ।
माधव नेपालले एक कार्यकालभन्दा बढी अध्यक्ष बस्दिन भनेको सुनिन्छ । एक कार्यकाल पार्टी नै टिक्छ कि टिक्दैन । पार्टी बचे पो अध्यक्ष दोहोर्याउनु ! किनभने उनको स्वार्थका लागि कोही एमाले वलिदान हुन तयार छैन, माओवादी र काङ्ग्रेसबाट कोही उनको पछि लाग्न आउँदैन ।
हो, माधव नेपाल खाडलमा परेकोमा एमाले पङ्क्तिलाई चित्त दुखेकै छ । उनको उद्धार भए हुन्थ्यो भन्ने पनि लागेकै छ । नेकपा(एमाले)का अध्यक्षले हात दिएर उनलाई तानिदिए हुन्थ्यो भन्ने लागेकै छ । विनाकाम निहुँ खोजेर घर छोडेर हिंडेको कुनै बेलाको घर मूलीको विजोग टुलुटुलु हेर्ने रहर परिवारका कसैलाई हुँदैन ।
अझै पनि एमाले पङ्क्ति चाहन्छ -उनी फर्किउन्, उनलाई फर्काइयोस् । जीवनको उत्तरार्द्धमा माधव नेपाललाई घरको न घाटको हुनबाट बचाइयोस् । तर सबैले प्रयास गर्दागर्दै पनि उनी राजनीतिक आत्महत्याको बाटो अँगाल्छन् भने त कसको के लाग्छ ?